महँगो डुबुल्की


उपत्यकामा निजी पौडी पोखरीप्रति बढ्दो आकर्षण, सरकारी भने खुल्दै र बन्द हुँदै

"गर्मीमा पौडिनुको आनन्द अलग्गै हुन्छ। अझ यसले शरीर पनि सन्तुलित बनाउँछ," नायिका झरना थापालाई जस्तै आनन्द लिने र सन्तुलित शरीर बनाउने मोह भएकाहरू यतिबेला पौडी पोखरी धाइरहेका देखिन्छन्। उपत्यकाको तामक्रम बढ्दै गएपछि त झन् पौडीका पारखीहरूलाई बहाना नै मिल्छ। तर, उपत्यकामा पौडी पोखरीको स्तर, संख्या र शुल्कमा भने एकरूपता देखिँदैन। राष्ट्रिय खेलकुद परिषद्को मातहतमा भएका पौडी पोखरीसमेत राम्ररी सञ्चालन हुनसकेका छैनन्। भएकाको पनि राम्रो व्यवस्थापन छैन।

उपत्यकामा भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लब, झम्सिखेलको इन्टरनेसनल हेल्थ क्लब, सानेपाको अरोमा स्पोर्ट्स सेन्टर र पुल्चोकको ललित मण्डप हार्दिक क्लबले निजी रूपमा पौडी पोखरीहरू सञ्चालन गरेका छन्। यस लाममा इसानी क्लब, कुण्डलिनी क्लब, कसमस क्लब र सोलारयिम स्पोर्ट्स सेन्टर पनि पर्छन्। यीबाहेक कतिपय ठूला होटलहरूले समेत सदस्यताका आधारमा पौडी खेल्ने सुविधा उपलब्ध गराउँदै आएका छन्। "पौडीका लागि निजी क्लबहरू अलिक महँगा छन्, यसमा राखेपले नै चासो देखाउनुपर्ने हो," पौडीमा रुचि राख्ने युवा व्यवसायी निरन अर्याल भन्छन्, "सस्ता र राम्रा पौडी पोखरी सञ्चालन गर्नुपर्छ राखेपले। यदि राखेपले गरेन भने महानगरपालिकाले पनि यस विषयमा चासो देखाउनुपर्छ।" पौडीलाई खेलका रूपमा भन्दा पनि सर्वसाधारणको आवश्यकताका रूपमा राज्यले बुझ्नुपर्ने धारणा छ अर्यालको।

पौडी पोखरीको शुल्क निजीको भन्दा सरकारी स्वामित्वमा सञ्चालितहरूको सस्तो छ। जस्तो: बालाजु पौडी पोखरीमा दुई घन्टाको ६० रुपियाँ तिर्नुपर्ने हुन्छ भने राखेपद्वारा सञ्चालित रंगशाला पौडी पोखरीमा दुई घन्टाको एक सय रुपियाँ मात्र प्रवेश शुल्क थियो। सातदोबाटो पौडी पोखरीमा १ सय ५० रुपियाँ तिरेर दिनभर पौडिन सकिन्थ्यो। तर, राखेपद्वारा सञ्चालित पोखरीहरू ठेक्कापट्टा विवाद र उचित व्यवस्थापनको अभावका कारण कहिले खुल्ने र कहिले बन्द हुने भइरहेका छन्। "यसबारे हामीले कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेका छौँ, अब केही न केही गर्न सकिन्छ," राखेपका नवनियुक्त सदस्य-सचिव युवराज लामा भन्छन्, "सर्वसुलभ तरिकाले सर्वसाधारणले पनि पौडिन पाउने व्यवस्था हुनुपर्छ भन्नेमा हामी पनि सहमत छौँ।"

अति नै भीड हुने भनिएको नेपाल पुलिस हेल्थ क्लबको पौडी पोखरीमा परचियपत्र भएका विद्यार्थीले एक सय र अन्यले १ सय ५० रुपियाँ तिरेपछि पौडिन सक्छन्। तर, यसका सञ्चालक पौडी पोखरी व्यवसायप्रति भने सन्तुष्ट छैनन्। प्रबन्धक राकेशविक्रम शाह भन्छन्, "हामीले रेस्टुराँलगायतका सुविधा पनि दिएका छौँ, त्यही पनि घाटामा छौँ हामी।" शाहले सञ्चालन गरेको क्लबमा जिम, साउना, स्वीमिङ् र ब्याड्मिन्टन खेल्ले सुविधा छन्। १५ हजार रुपियाँ तिरेर वाषिर्क सदस्यता लिएपछि क्लबले पौडीको अवसर दिलाइदिन्छ।

पौडीका पारखीहरूलाई ध्यानमा राखेर उपत्यकामा निजी पौडी पोखरी सञ्चालकहरूले विभिन्न प्याकेज कार्यक्रमसमेत घोषणा गरेका छन्। जस्तो: झम्सिखेलको इन्टरनेसनल हेल्थ क्लबले गर्मीका तीन महिनाका लागि ८ हजार ५ सय रुपियाँको जोडी प्याकेज, १६ हजार रुपियाँको पारिवारकि प्याकेज घोषणा गरेको छ। "यस्तै अरू प्याकेजहरू पनि छन् हाम्रा। पौडीका लागि मात्र नभएर क्लबमा शारीरकि अभ्यास गर्न आउनेहरू पनि त्यत्तिकै छन्," क्लबकी प्रबन्धक सुमी कार्की भन्छिन्, "मान्छेमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि भएकाले यस्ता निजी क्लब पुगेर पौडिनेहरू बढेका हुन्।"

सानेपास्थित अरोमा स्पोर्ट्स सेन्टर प्रबन्धक कनक शाहका अनुसार राजधानीमा मात्र हाल ४० भन्दा धेरै व्यवस्थित पौडी पोखरीहरू व्यावसायिक रूपमा सञ्चालित छन्। "निजी पोखरीहरूले ग्राहक तान्न सफा पानी र अरू सुविधाहरूलाई ध्यान दिएका छन्," शाह भन्छन्, "पौडीलाई नै ध्यानमा राखेर उपत्यकामा वाषिर्क दुईदेखि तीनवटासम्म नयाँ पोखरीहरू थपिन्छन्।" अरोमाले वाषिर्क १२ हजार रुपियाँको सदस्यताका आधारमा पौडी सुविधा उपलब्ध गराउँदै आएको छ। पुल्चोकको ललित मण्डप क्लबले भने प्रतिमहिना एक सदस्यबाट चार हजार रुपियाँ लिने गरेको छ। क्लबका विराज विष्ट भन्छन्, "शारीरकि अभ्यासका अरू सुविधाका कारण पनि शुल्क महँगोजस्तो भएको हो।"

उपत्यकाका तारे होटलहरूले समेत शारीरकि अभ्यासका नाममा विभिन्न प्याकेज बनाएका छन्। "पौडी पनि यसैमा पर्छ तर यस्ता होटलहरू भने अति महँगा छन्," व्यवसायी अर्याल भन्छन्, "५० हजारदेखि ९० हजारसम्म वाषिर्क फि तिर्नुपर्छ स्टार होटलबाट यस्तो सुविधा लिन।"

जे भए पनि राखेप र महानगरपालिकाका कारण पौडीका पारखीहरूले महँगो पैसा तिर्दै निजी क्लब र होटलहरू धाउनुपरेको छ। कम्तीमा पनि गर्मी महिनामा राम्रा र सस्ता पौडी पोखरी सञ्चालनमा ल्याइए भने उपत्यकाका सर्वसाधारणले महँगो पौडीबाट मुक्ति पाउने थिए ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...