यस्तो पनि माया हो?


फिल्म : के यो माया हो,
निर्देशक : सुदर्शन थापा,
कलाकार : आर्यन सिग्देल, सौगात मल्ल, अरुणिमा लम्साल, सुष्मा कार्की, नीर शाह, किरण केसी आदि,
समीक्षकः सन्तोष रिमाल,
समीक्षा: २.५/५

अमेरिकाका प्रख्यात फिल्म समीक्षक एन्ड्रियु सारिसले भनेका थिए 'खराब निर्देशकले सधैं खराब फिल्म बनाउँछन्।' खराब निर्देशकबाट कहिल्यै राम्रो फिल्मको आशा गर्न नसकिने संकेत गर्दै उनले 'वरिष्ठ' निर्देशकलाई 'राम्रो' फिल्म बनाएर देखाइदिन चुनौती दिएका थिए।  समीक्षक सारिसको टिप्पणी नेपाली फिल्ममा पनि लागु हुन्छ। नेपाली फिल्म बजारमा लगातार रिलिज भइरहेका खराब फिल्म खराब निर्देशककै करामत हुन्।
बजेट थोरै भएकोले राम्रो फिल्म बन्न नसकेको भन्दै आफूलाई चोख्याउने निर्देशकहरू गलत हुन् भन्ने पुष्टि फिल्म 'के यो माया हो'ले गर्छ। लगानी १ करोड कटेको भनिने यो फिल्म नेपाली बजारअनुसार 'बिग बजेट'को हो। तर, फिल्मले प्रस्तुत गरेको सोच, यसको पटकथा र समग्र फिल्मको स्वरुपले भन्छ आर्थिक अभाव होइन निर्देशकको फितलो दिमागी परिकल्पना नै मुख्य समस्या हो।
निर्देशनको पहिलो अभ्यासमै सुपरहिट कोरियन फिल्म 'अ मिलेनियर्स फस्ट लभ'को 'फ्रेम टु फ्रेम' उतारेर 'मेरो एउटा साथी छ' बनाउँदा निर्देशक सुदर्शन थापाले आलोचना भन्दा बढी प्रशंसा नै पाएका थिए। बलिउडको फर्मुला र मसलालाई आदर्श मानेर फिल्म बनिरहेको बेलामा उनले चखाएको कोरियन स्वाद दर्शकले रुचाएका थिए। तर, दोस्रो फिल्ममै उनले बलिउडको बासी फर्मुला आत्मसात परेर 'सम्भावना बोकेको' पहिचान गुमाउन पुगेका छन्।
'लिभिङ टुगेदर'को विषयमा बनाएको चर्चाले युवा पुस्ताको ध्यान तान्न सफल भएको थियो फिल्म। तर, फिल्म पूरै यो विषयमा केन्द्रित छैन। राम (आर्यन सिग्देल), सीता (अरुणिमा लम्साल) र श्याम (सौगात मल्ल), गीता (सुष्मा कार्की)को जोडीलाई 'अल्ट्रा मोर्डन' विषयमा उतार्दा हास्यास्पद लाग्छ। फिल्म संरचनाको आधार मानिने 'क्यारेक्टर', 'कन्फ्िलक्ट' र 'चेन्ज' देखाउनै सकेको छैन फिल्मले।
फिल्मले पात्रलाई स्थापित गर्न सकेको छैन। फिल्म सुरु हुँदा नै दुई जोडीले मायाको डोरी कसिसकेका हुन्छन्। तर त्यो गाँठो कति कसिलो छ, खुल्दैन। सँगै बस्न थाल्ने बित्तिकै प्रेमीप्रेमिकाको मनमुटाव सुरु हुने कारण पनि जायज छैन।
चारै जना एउटै अफिसमा काम गर्छन्। त्यो कस्तो अफिस हो? उनीहरु के काम गर्छन्? सधैं 'ट्याक्क ट्याक्क ट्याक्क' भन्दै अफिस आउने जोकर हाकिम (नीर शाह) किन राखेको? उत्तर खोज्न थाल्यो भने रिंगटा लाग्छ।
सुरुकै गीत कथासँग सम्बन्धित छैन। मुस्ताङमा सुटिङ गरेको धाक लगाउन मात्र काम लाग्ने खालका छन् गीत। कमेडीको नाममा साह्रै सस्तो ट्रिटमेन्ट छन्। पर्दामा किरण केसीको आगमन नेपाली टेलिभिजनमा छाएका सस्ता हाँस्य सिरियलको झझल्को दिलाउने खालको छ।
छायाँकारको दर्जा बढाएको छ यो फिल्मले। 'डाइरेक्टर अफ फोटोग्राफी'मा राजेश श्रेष्ठको नाम आउँछ। युनिटमा ठूलो नाम बनाए पनि उनको काम ठूलो लाग्दैन। उनको फोटोग्राफी कलाले फिल्ममा लाग्ने अर्थ जे भए पनि थुप्रै फोकस आउट दृश्यले काम कच्चा बनेको छ। बलिउडबाट दृश्य सम्पादनको सिप सिकेर आएका सुरेन्द्र पौडेल यहाँका 'लोकल प्रोडक्ट' भन्दा के कुरामा उम्दा छन् भन्ने जावाफ पनि फिल्मले दिन सक्दैन।
लभस्टोरी फिल्ममा चम्किएका आर्यनले यो फिल्ममा अभिनयको पारो बढाउन सकेका छैनन्। रंगमञ्चमा खारिएका र फिल्म 'दासढुंगा'बाट प्रशंसा कमाएका सौगात मल्लले आफ्ना खास दर्शकलाई निरास बनाएका छन्। हिरोइनका रूपमा अरुणिमालाई पनि पछि पार्दै सुष्माले जुन 'स्पेस' पाइन् त्यसलाई उपयोग गर्न उनी सक्षम देखिन्नन्।
दृश्य चहकिलो बनाउने नाममा घरको भित्तालाई रंगीचंगी र टल्काइएको छ। तर, त्यो एकदम कृत्रिम र सुनियोजित देखिन्छ। निर्देशकले भित्ता र पर्खाल होइन पात्रलाई टल्काउन सक्नुपर्थ्यो।
फिल्मका सबै पात्रलाई मुर्ख बनाइएको छ। केटाकेटी 'रेगुलर' नेपाली फिल्मको विशेषता बनेको चर्को अभिनय यसमा पनि प्रशस्तै छ। नबोल्ने हो भने केही पनि बुझाउन सकिँदैन भन्ने मानसिकतामै देखिन्छन् निर्देशक। बोलेको बोल्यैमा फिल्म सकिन्छ। दर्शकले केही गम्ने, मनन गर्ने मौका नै पाउँदैनन्। हँसाउनु कठिन काम हो। जानिएन भने आफैं हासोको पात्र बनिन्छ। 'के यो माया हो' त्यस्तै बनेको छ।
फिल्मको अन्त्यमा बिहे गर्नअघि युवायुवती एउटै छानामुनि बस्न अर्थात् 'लिभिङ टुगेदर' हुनु हुँदैन भनेर निर्देशकले निष्कर्ष दिएका छन्। निर्देशकले एउटा पात्रको मुखबाट निकालेको यो 'आदर्श' प्रगतिशील त भएन नै, दर्शकको निर्णय क्षमताको अपहेलना समेत हो।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...