मेरो सिनेमा भदौ २५ २०६७,
चलचित्र : दीपशिखानिर्देशक : नरेश पौड्याल
अभिनय : अरुणिमा लम्साल, जीवन लुइँटेल, नीरज बराल, राधा लम्साल
निर्माता : नरेश पौड्याल
कथा : अरुणिमा लम्साल
संगीत : चेतन सापकोटा
नृत्य : शान्ता नेपाली, बसन्त श्रेष्ठ
छायांकन : शम्भु सापकोटा
द्धन्द्ध : एनबी महर्जन
अवधि : ३ घण्टा
सेन्सर सर्टिफिकेट : यू
रिलिज : देशब्यापी
स्क्रिप्टको खोजीमा लागिरहेका निर्देशक नरेश पौड्याल त्यतिबेला फिल्म बनाउने निधोमा पुगे जतिबेला हिरोइन अरुणिमाले आफूसँग फिल्म बनाउन उपयुक्त कथा रहेको बताइन् । अरुणिमाले लेखेको स्क्रिप्ट पढिसकेपछि नरेशले 'दीपशिखा'को प्लट बुनेका हुन् । विशुद्ध फिल्मका लागि भनेर उनले स्क्रिप्ट त लेखिनन् तर नरेशले कथालाई चलचित्रको आकार दिए फलस्वरुप दीपशिखा 'फर्मुला फिल्म' बन्न पुग्यो । यस्तो फर्मुला जसले प्रस्तुतिकरणका एकाध पक्षबाहेक परम्परागत चलचित्र निर्माणको पद्धति र मसला फिल्मको अहम हिस्साका रुपमा आफूलाई उभ्याएको छ । संवाद, दृश्य र प्रविधिलाई अपवाद मान्ने हो भने निर्देशक पौड्यालले 'धड्कन' निर्माणको चारवर्षपछि उस्तै श्रेणीको चलचित्र पस्किएका छन् । जसले दर्शकको अपेक्षा र चलचित्रबीच ठूलो खाडल सिर्जना गरेको छ । त्यो खाडल पुर्न कथालाई रुपान्तरित गरेर नयाँ आकारमा ढाल्न सकिन्थ्यो तर प्राप्ती नै प्रेम हो र प्रेमका सामु संसारका सबै कुरा गौण हुन्छन् भन्ने शाष्त्रिय मान्यतालाई अनुमोदन गर्न कथालाई पुरानै प्रवाहमा बगाइएको छ । जुन प्रवाह 'दीपशिखा'का लागि महङ्गो पर्ने निश्चित छ ।
हिरोइनले लेखेको फिल्मका रुपमा चलचित्रले अपेक्षाकृत पब्लिसिटी पायो । निर्देशकले पनि 'स्क्रिप्ट ओके' गर्नुअघि हिरोइनले लेखेको फिल्म भनेर दर्शकको मनोविज्ञान 'क्यास' गर्ने चाहना राखेको हुनुपर्छ । जुन चाहना स्टोरी कमजोर हुने माध्यम बन्यो । नरेशले स्टोरी मेकअपमा यति मिहेनत गर्नु आवश्यक थियो कि स्टोरीले उनीबाट अपेक्षाकृत योगदान पाउन सकेन । भलै, अरुणिमा अनुभवहीन फिल्म लेखिका नै किन नहुन् ? उनले लेखेको त्रिकोणात्मक प्रेमलाई 'मोडिफाइ' गरेर चलचित्रलाई पृथक आयाम दिन सकिन्थ्यो । 'फर्मुला' फिल्ममा पनि अलग 'फ्लेवर' दिन सकिन्थ्यो । सन्पेन्स तुल्याउन सकिन्थ्यो । अन्ततः दर्शकले हलबाहिर जसरी 'दीपशिखा' शब्द मिलेको देख्छन् स्क्रिनमा पनि 'दीपशिखा' शब्दलाई मिलाउन दीप नाम गरेको हिरो र शिखा नाम गरेको हिरोइनलाई मिलाइएको पाउँछन् । जसका कारण 'दीपशिखा' चलचित्र शीर्षकको सार्थकता पुरा गर्नेतर्फ मात्र केन्द्रित बनेको छ ।
कथा : शिखा (अरुणिमा) प्रायः सपनामा आफ्नो राजकुमारलाई देख्छे । सपनामा समेत मनपरेको युवक देख्न थालेकी उसले विपनामा पनि उस्तै युवकको खोजी गर्छे । उसको सपनामा अनुहार ढाकेको एक युवा घोडा चढेर आउँछ । त्यो युवक वास्तविकतामा छ कि छैन भन्ने दोधारमा रहेकी शिखाको भेट दुइ युवकसँग हुन्छ । पहिलो भेट नीरजसँग हुन्छ जो दसवर्षपछि शिखालाई विहे गर्न लन्डनबाट नेपाल आउँछ । शिखाको असहमति र परिवारको दवावमा दुवैबीच इन्गेजमेन्ट पनि हुन्छ । तर, नीरज केही दिनका लागि लन्डन फर्किएपछि शिखा साथीहरुसँग घुमघामका लागि पोखरातर्फ लाग्छे । जहाँ उसको भेट जीवनसँग हुन्छ । विस्तारै घुलमिल हुन थालेपछि जीवन शिखालाई एकोहोरो प्रेम गर्न थाल्छ । शिखा पनि आफ्नो सपनाको राजकुमारका रुपमा जीवनलाई अनुभूत गर्न थाल्छे । यतिबेला कथाले भिन्न मोड लिन्छ जतिबेला नीरज विहेका लागि लन्डनबाट नेपाल फर्कन्छ । जीवनले शिखालाई मनपार्छ भन्ने थाहा पाएपछि नीरज र जीवन दुवैबीच घम्साघम्सी पनि हुन्छ । कथा अघि बढ्दै नीरज र शिखाको विहेको दिन प्रहरी र शिखाका साथी मिलेर जीवन र शिखालाई भगाउँछन् । भाग्ने क्रममा खलपात्र र नायकहरुबीच द्धन्द्ध हुन्छ । अन्त्यमा प्रेमको जीत देखाउन शिखा र जीवनबीच विहे गरिन्छ । नीरजले शिखाकी साथी वर्षालाई स्वीकार्छ ।
निर्देशन : स्टोरीले दर्शकलाई बाँध्न सकेको छैन । फिल्मको अन्त्यमा के हुन्छ ? त्यो गुढ कुरा दर्शकले हाफटाइम अघि नै थाहा पाइसक्छन् जसका कारण दर्शकको मनोविज्ञान एकत्रित हुन सक्दैन । पटकथा यति 'अफट्रयाक' छ कि दर्शकहरु पात्रको जीवनको नजिक पुग्न सक्दैनन् । जसका कारण फिल्म जतिजति उत्कर्षतर्फ अघि बढ्दै जान्छ त्यति नै पात्रहरुले दर्शकको 'सिम्प्याथी' पनि गुमाउँदै जान्छन् । फिल्मको उत्तराद्र्धमा कथालाई यति 'फास्ट' तुल्याउन खोजिएको छ कि दृश्यहरुको 'प्लेसमेन्ट' श्रृङ्खलाबद्ध हुन सकेको छैन । अनावश्यक दृश्यका कारण पटकथा लम्बिएको छ जसका कारण फिल्मको अवधि तीन घण्टा हुनपुगेको छ । नदेखिने भन्दा देखिने अभिनय गराउन खोजिएकाले पनि पटकथा लामो भएको छ । तरपनि दर्शकलाई मनोरन्जन दिन प्रशस्त हाँस्यरस बाँडेका छन् नरेशले । फिल्मको प्रारम्भलाई प्रशंसा गर्नैपर्छ । कमजोर 'प्लेसमेन्ट'ले दर्शकलाई कन्फ्युज र अस्वभाविक पनि तुल्याइदिएको छ । यद्यपी निर्देशकले कतिपय पक्षमा नवीनताको प्रयोग गर्न खोजेका छन् जुन सकरात्मक छ ।
अभिनय : जीवन लुइँटेल उहि दुःखी र प्रेमका लागि त्याग गर्ने पात्रको गायकको रुपमा छन् । कतिपय दृश्यमा जीवनलाई भावुकताको 'भद्दा' पात्रको रुपमा प्रस्तुत गरिएको छ । जीवनको अभिनयमा अझै गतिशिलता र 'रियालिस्टक' भावहरु पोतिन सकेका छैनन् । चलचित्रमा अरुणिमा हावी छिन् तर दर्शकलाई आफूसँग बाँध्न सकेकी छैनन् उनले । अस्थिर पात्रको रुपमा अरुणिमाले दर्शकको मनोविज्ञानलाई उतारचढाव तुल्याइरहन्छिन् । नीरज बरालको प्रयत्न राम्रो छ तर क्लोज सट्मा अभिनयको भाव जगाउन सकेका छैनन् उनले । नीरजका फाइट स्टन्टहरु राम्रा छन् । विष्णु सापकोटाले प्रशस्त हाँस्यरस बाँडेका छन् । राधा लम्सालको भूमिका आमाका रुपमा फिट छ । छायांकारका रुपमा शम्भु सापकोटाले 'सिनेम्याट्रोग्राफी स्किल्स' देखाउन सकेका छैनन् । दृश्यलाई बताउन छायांकनको भूमिका प्रमुख हुन्छ तर एङ्गल र कला कमै नापेका छन् उनले । संवाद सहज हुँदै क्लिष्टतातिर बगेको छ ।संगीत : मेरो सपनीमा कोही आउँछ र किन तिमीले यति धेरै मलाई माया गर्यौ जस्ता दुई गीत रिलिज अगावै रुचाइएका थिए । रिलिज अगावै चलचित्रका गीतहरुले निकै चर्चा पाउनुपर्ने हो तर त्यस्तो भएन । कथा अनुसार संगीत मिलेको छ । पटकथाको अनुकूलतामा संगीत प्रस्तुत गरिनु चलचित्रको राम्रो पक्ष हो । संगीतअनुसार शान्ता नेपाली र बसन्त श्रेष्ठले नृत्य पस्किएका छन् ।
ब्यापार : चलचित्रलाई सिङ्गल स्क्रिन त्यसमा पनि 'उर्वान-सिटी' क्षेत्रका दर्शकले मनपराउने अनुमान गर्न सकिन्छ । मल्टिप्लेक्समा फिल्मको कलेक्सन गाह्रै पर्न सक्छ । किनभने यो साता रिलिज भएका चारै नेपाली चलचित्र त्यसमा पनि बलिउडको मेगाप्रोजेक्ट 'दबङ'सँग यसले नेपाली बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सिङगल स्क्रिनमा 'दीपशिखा'को कलेक्सन राम्रो हुन्छ भन्ने आधार के हो भने फिल्मको स्टोरी 'उर्वान-सिटी' अडिएन्सका लागि बनेको छ र पर्वहरुको छेकोमा यो चलचित्र ती दर्शकहरुको मनोरन्जनको विकल्प बन्न सक्छ । चलचित्रले पहिलो साता पिकअप लिने देखिएपनि ब्यापार भने औषत गर्नसक्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ ।
किन हेर्नुपर्छ ?: कमेडी मनपराउने दर्शकका लागि फिल्म मनोरन्जनात्मक छ । नीरज बरालको प्रस्तुति दर्शकको अर्को आकर्षण हो । सिरियस फिल्म हेर्न चाहनेलाई भने यो फिल्मले निरस तुल्याउन सक्छ । पोखराको आकर्षक लोकेसन चलचित्रको अर्को दर्शनिय विषय हो ।


No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद