बलिया देशमध्ये नेपाल १ सय ३० औंमा

काठमाडौँ, भदौ २४- विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन (२०१०/११) ले स्वीट्जरल्याण्ड सबभन्दा बलियो देश भएको देखाएको छ भने नेपालको स्थान १ सय ३० औं मा परेको छ । विश्व आर्थिक मञ्चले 'माइक्रो र म्याक्रो' अर्थतन्त्रको विश्लेषण गरी तीन वर्षदेखि प्रकाशन गर्दै आएको प्रतिस्पर्धात्मक प्रतिवेदन आज विश्वभरझैँ नेपालमा पनि सार्वजनिक गरियो ।


नेपालमा त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले यस अनुसन्धानको जिम्मेवारी लिँदै आएको छ ।

सेडाका कार्यकारी निर्देशक भरत पोखरेलले प्रतिवेदनको सार प्रस्तुत गर्दै यस वर्ष १ सय ३९ देशबाट अध्ययन गरिएको र त्यसमा नेपाल १ सय ३० औँमा परेको जानकारी दिए ।

गत वर्ष १ सय ३३ औँ देशहरूमा नेपाल १ सय २५ औंमा परेको थियो ।

अध्ययनमा एडम स्मिथको श्रम विभाजन र विशिष्टता, नवउदारवादको भौतिक पुँजी र संरचना, शिक्षा र तालिम, आर्थिक स्थायित्व, सुशासन, बजार व्यवस्थापनजस्ता विभिन्न १२ वटा सैद्धान्तिक आधार तय गरिएको थियो ।

प्रतिवेदनमा दस बलिया देशमा स्वीट्जरल्याण्डपछि क्रमशः स्वीडेन, सिङ्गापुर, अमेरिका, जर्मनी, जापान, फिनल्याण्ड, डेनमार्क र क्यानाडा परेका छन् ।

यसैगरी दस कमजोर देशमा चाड, अङ्गोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक र नेपाल छन् ।

प्रतिवेदनमा चीनको स्थान २७ औंमा देखाइएको छ भने दक्षिण एसियामा भारतको स्थान राम्रो अर्थात् ५१ औंमा परेको छ ।

बलिया देखिएका मुलुकमा शिक्षा, दक्षता, प्रविधि र स्वास्थ्यमा राज्यको प्राथमिकता, सार्वजनिक संस्थाहरूमा व्यावसायिकता, रोजगारको प्रबन्ध तथा काममा दण्ड एवम् पुरस्कारको नीति अपनाइएको प्रतिवेदनमा उल्लेख छ

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...