अब एक लाख मै टेस्टट्युब बेबी!

दीपक दाहाल, काठमाडौ, भदौ १६- टेस्ट्युबमा भ्रुणको विकासगरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) अब सरकारी अस्पतालमा समेत सुरू हुनेभएको छ। निजी क्षेत्रमा टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउन सुरू गरिएको ६ वर्षपछि परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यस्तो सेवा सुरु गर्न लागिएको हो। अस्पतालको ५१ औँ वार्षिक उत्सवको अवसर पारेर आज सो सेवाबारे घोषणा गरिँदैछ।


पुरूषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गराइन्छ। सेवा सुरू गर्न तयार रहेको अस्पतालको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएपछि अस्पतालले विस्तृत प्रस्ताव तयार पारेर मन्त्रालय पठाइसकेको अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले नागरिकसँग बताइन्। 'हामीले भने अनुसार भएमा ६ महिनभित्र सेवा सुरू गर्न सक्छौ।' डा.बज्राचार्यले भनिन् 'त्यसमा मन्त्रालयका अधिकारी समेत सकारात्मक छन्। '

निजी क्षेत्रमा यो प्रविधि सुरू भएपनि एक त अत्यन्तै महङ्गो छ। सुलभ सेवा र सबै प्रकारका आधुनिक स्वास्थ्य सेवा विस्तारका लागि यो काम कोसेढुङ्गा सावित हुने अस्पतालका अधिकारीको विश्वास छ। अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले भनिन् , 'त्यसैले हामी अग्रसर भएका हौ।'

मन्त्रालयमा पठाएको प्रस्तावमा अस्पतालले यो सेवा सुरूवातका लागि तत्काल एक करोड आवश्यक पर्ने जनाएको छ। प्रस्ताव गरेअनुसार बजेट आयो भने ६ महिनभित्र सेवा सुरू गर्न सक्ने उल्लेख छ। अस्पतालले मन्त्रालयले स्वीकृति दिए लगतै थप आवश्यक तालिम लिन बाहिर पठाउने र अस्पतालमा शैया समेत थप गर्नुपर्ने जनाएको छ।

पहिलो पटक सन् २००४ मा ओमबाट सेवा सुरू भएकोमा हाल ग्लोबल अस्पतालमा पनि सेवा छ। पहिलोपटक राजेन्द्र सन्ध्या तामाङ्ग दम्पतीले एक सन्तान जन्माएका थिए। यसका लागि निजीमा ५ देखि १० लाख खर्च लाग्छ। प्रसुति गृहमा सेवा सुरू भएपछि यो सेवा १ लाख मा नै दिन सकिनेछ। ओम अस्पतालका प्रबन्ध सञ्चालक डा.हरीकिशोर श्रेष्ठले हालसम्म ओममा ६ सय महिलामा आइभिएफ गरिएको भएपनि २ सय बच्चा जन्मिसकेको बताए। 'आइभिएफ सबैमा सफल हुन्छ, भन्ने छैन्।' डा.श्रेष्ठले भने। उनले आइभिएफ अघि नै पाठेघरमा कृत्रिम ढंगले सिधै शुक्रकीट राख्ने प्रविधि (आइयुआई)बाट थुपै बच्चा जन्मिएको बताए। परोपकार प्रसुती अस्पतालमा पनि चार वर्षअभि आइयुआई प्रविधि भने सुरू भइसकेको छ। जसमा १८ देखि २० प्रतिशत सफल हुन्छन्। आइयुआई पाठेघरमा शुक्रकीट प्रवेश गर्ने नली फालेपियन बन्द नभएका महिलामा मात्रै संभव छ। 'आइयुआई प्रत्येक महिना प्रत्येक महिनावारीका समयमा प्रयास गर्न सकिन्छ , तीन/चार पटकमा पनि नभएमा टेस्ट्युब बेबी प्रविधिमा जाने हो। ' ओमका प्रवन्ध सञ्चालक डा.श्रेष्ठले भने। आइयुआई प्रविधिको एकपटकमा ६ हजार लाग्छ।

'सेवा सुरू भएपछि बायोलोजिकल्ली फिट नभएरका महिला जो आर्थिक रूपमा पनि महङ्गो सुल्क तिर्न सक्दैनन् उनीहरू बढी लाभान्वित हुनेछन्।' डा.बज्राचार्यले भनिन्। महिलाको दुइवटै फ्लेपियन ट्युब बन्द भएमा साधारण तरीकाले गर्भाधान हुनसक्दैन्। त्यस्ता महिलामा मात्रै आएभिएफ प्रविधि प्रयोग गरिन्छ। यो प्रविधिबाट ३० देखि ३५ प्रतिशत बच्चा सफल रूपमा जन्मिन्छन्। यस्तो अवस्थामा एकैपटक तीनचार वटा बच्चा जन्मिने संभावना बढी हुन्छ।

यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मिने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहार सुसारको आवाश्यकता पर्ने चिकित्सकरू बताउँछन्। आइभिएफका अधिकांश अवस्थामा अप्रेसनको जरूरी पर्छ। आइभीएम प्रविधिमास्वास्थ भूणलाई महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ। अधिकांश समयमा चार भुण प्रत्यारोपण गरिन्छ। यसरी प्रत्यारोपण गर्दा सबै हुर्किन नसकेपनि कम्तिमा एउटा हुर्किन्छ भनेर सोच राखिएको हुन्छ। सफल भएका केसमा एक भन्दा बढी शिशु जन्मिने चिकित्सकहरू बताउँछन्

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...