लज्जास्पद हारले लत्रिए नेपाली कोच

काठमाडौं, साउन ९ (नागरिक)- विपक्षीप्रति आक्रामक अभिव्यक्ति दिन माहिर नेपाली राष्ट्रिय फुटबल टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस जोर्डनसँगको लज्जास्पद हारपछि लत्रिएका छन्।
विश्वकप छनोटको दोस्रो चरणमा नेपाल घरेलु टोली जोर्डनसँग ९-० ले पराजित भएपछि उनको बोलीमा नरमपन थियो। खेलपछि पत्रकार सम्मेलनमा बोल्दै रोबर्टसले जोर्डन लगभग अघिल्लो चरण पुगेको जनाए। 'उनीहरूले धेरै राम्रो फुटबल खेले। त्यो निकै बलियो र अनुशासित टोली हो। उनीहरूले सुरुदेखि अन्तिमसम्म खेल नियन्त्रणमा राखे,' रोबर्टसको स्वीकारोक्ति थियो। जोर्डन उड्नुअघि हामी आत्मसमपर्ण गर्न वा ७-० ले हार्न जान लागेको होइनौं भन्ने रोबर्टसले अन्ततः जोर्डन टोलीको तारिफ गरेर फर्केका छन्।
जोर्डनका हरेक खेलाडी बलसँग निकै सहज र आफ्ना खेलाडीले बढीभन्दा बढी गल्ती गरेका कारण धेरै गोल खानुपरेको रोबर्टसले तर्क गरे। 'आज ८-९ खेलाडीले आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन्,' उनले थपे।

रोबर्टसले युवा टोली भएकाले नेपालले धेरै सिक्न बाँकी रहेको बताए। 'यो खेलबाट धेरै सिक्नुपर्छ। हामीले यस्तो स्तरीय खेल खेलेका थिएनौं,' उनले भने, 'हामी यो खेलको भिडियो हेर्नेछौं र अर्को लेगमा सुधार गर्ने छौं।' नेपाल र जोर्डनबीच दोस्रो लेग बिहीबार दशरथ रंगशालामा हुँदैछ।
दशरथ रंगशालामा हुने खेलको नजिता अनुमान गर्ने क्रममा रोबर्टसले १-० को अन्तर हुने जनाए। सँगसँगै उनले अम्मानमा जस्तो दशरथ रंगशालामा खेल्न सहज नहुने बताए। उनले भने, 'नेपालमा हुने खेल बिल्कुल फरक हुनेछ, किनकि दशरथ रंगशालाको मैदान कडा छ।' रोबर्टसले दोस्रो लेग प्रतिष्ठाका लागि खेल्ने पनि बताए।
जोर्डनका सहायक प्रशिक्षक अहमन अबेद अल कदारले नजितालाई सोचेअनुरुपकै भएको जनाउँदै भने, 'दोस्रो लेग अघिल्लो चरणको तयारीका रूपमा हुनेछ।' नेपाली टोली आइतबार स्वदेश फर्केको छ भने जोर्डनी टोली सोमबार बिहान काठमाडौं आइपुग्नेछ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...