वन्दीपुर-प्रकृति र संस्कृतिको संगमस्थल

पहाडको अक्करमा फुल्ने गुराँस जस्तै प्रायः रमाइला ठाउँहरू पनि बाटैमा फेला पर्दैनन्। तर, तनहुँको बन्दीपुर काठमाडौँ पोखराको आरामदायी एकदिने गाडी यात्राको बीचतिर पर्छ। डुम्रे बजारको दक्षिणतिर सात किलोमिटर उकालोमा तपाइँले खुई खुई गर्नुपर्दैन, तनुहँको यो पुरानो सदरमुकामसम्म मारुतिजस्ता साना कार पनि मज्जाले गुड्न सक्छन्।

यसैले बन्दीपुर सुगम गन्तव्य हो। नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको शहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ। रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन्। बन्दीपुर वरिप।िरका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ। दुई―तीन दिनको भ्रमणका निम्ति बन्दीपुर उपयुक्त छ।

मुग्लिङबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ, त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले। यही नै बन्दीपुरको फेद हो, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी शहर बन्दीपुर पुग्न सकिन्छ। यदि तपाई पैदल यात्राकै मजा लिन चाहनुहुन्छ भने चर्चित बन्दीपुरे उकालोमा नागबेली पैदल बाटोले तपाइँलाई पर्खिइरहेको हुनेछ। डुम्रेबाट एक किलोमिटर पूर्वमा रहेको यो तीन किलोमिटर उकालो छिचोल्न त्यस्तै दुई/तीन घण्टा जति लाग्छ। उकालो चढिसकेपछि पसिनाले लत्पत तपाइँ बन्दीपुरको टुँडिखेल पुग्नुहुनेछ। जहाँ पसिना र थकाई उडाएर लैजान हिमाली हावा सधैँ तयार रहन्छ।

हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो। बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिँउमात्र देखिँदैन, ३०० किमि फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन्। बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ। पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित)े, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन्। बन्दीपुरका हिमाल हाँस्दैनन्, मुस्कुराउँछन्। तलतिर मर्स्याड्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दीपुर उपत्यका माथि झुण्डिइरहेको छ! बन्दीपुरले प्राकृतिक भ्यु टावर को उपमा यसै पाएको होइन!

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ। यहाँको सिद्ध गुफा नेपालकै सबैभ्ान्दा ठूलो गुफा मानिन्छ। डा. तीर्थबहादुर श्रेष्ठ आफ्नो बन्दीपुर यात्रा सम्झ्ँदै भन्छन्, “सिद्ध गुफामा त हात्ती चढेर पनि जान सकिन्छ होला। भित्र त टेनिस नै खेल्न पुग्ने ठाउँ छ।” बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन्। बन्दीपुर समाज विकास समितिका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ भन्छन्, “पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो। मङ्सिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ।”

जेठदेखि मध्य-असारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन्। यीमध्ये ब्याम्बो अर्किड त फागुन, चैतदेखि पुससम्मै ओइलाउँदैन।

बन्दीपुरमा बसोबासको पनि समस्या हुँदैन। टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ। यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ।
प्रवेशः डुम्रे
यातायातः गाडी/पैदल
बासः होटल/सशुल्क पाहुना
अवधिः २―३ दिन
आकर्षणः प्राकृतिक, सांस्कृतिक र पैदल यात्रा
उचित मौसम: मध्य असोजदेखि मध्य फागुन
खर्चः रातको रु. २०० देखि १००० सम्म बस्न र खाना छाकको लगभग रु.१००
उचाइः ३५०० फिट

बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ। ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन्। पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन्। सेती नदीमा राफ्िटङ गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन्।

बन्दीपुरको बसाइँ सकेर डुमे्रबजार झ्रेपछि थप यात्रा वा विश्रामका लागि पृथ्वी राजमार्गमा गाडी चढेर पोखरा वा लमजुङतर्फ पनि लाग्न सकिन्छ। समय पर्याप्त भयो भने दुई-तीन दिनमा पैदल यात्रा गर्र्दै लमजुङका घलेगाउँ, भुजुङ, पसगाउँ भएर कास्कीका रबैडाँडा, गोर्जे, थुम्सिकोट, कालिका हुँदै वेगनाश ताल छेउ लेखनाथ नगरपालिका निस्केर पोखरा पुग्न सकिन्छ। - मेचीकाली


No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...