काठमाडौं, कात्तिक ३० (नागरिक) - नेपाल टेलिकमको दैनिक आम्दानी साढे सात करोड रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको विवरणको आधारमा टेलिकमको दैनिक आम्दानी सात करोड ५५ लाख रुपैयाँ पुगेको हो । गत वर्ष यस अवधिमा टेलिकमको दैनिक आम्दानी ६ करोड १२ लाख रुपैयाँ मात्र थियो ।
टेलिकमले साधारण तारवाला टेलिफोन, जिएसएम र सिडिएमए मोबाइल, एडिएसएल लगायतका सेवा उपभोक्तालाई दिएर यो आम्दानी गरेको हो। 'गत वर्षभन्दा यो वर्ष ग्राहक आधार बढेको हुँदा हाम्रो आम्दानी पनि स्वभाविक रुपमा बढेको छ,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने ।
टेलिकमले यो वर्षको साउनदेखि असोजसम्म सात अर्ब तीनकरोड रुपैयाँ आम्दानी गरेको छ । सरकारलाई सबै कर भुक्तानी, सञ्चालन खर्च कटाएर टेलिकमले दुई अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको छ । टेलिकमले पहिलो तीन महिनामा लक्ष्य भन्दा बढी आम्दानी भएको जनाएको छ ।
अहिले टेलिकमको ग्राहक ५७ लाख पुगेका छन् । गत वर्ष असोजमा टेलिकमका ग्राहक ४७ लाख ५६ हजार थिए। एक वर्षमा टेलिकमका ग्राहक १० लाख बढेका छन् ।
आर्थिक वर्ष २०६६/६७ मा टेलिकमले २४ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यो वर्ष टेलिकमले सबै खर्च कटाएर १० अर्ब १७ करोड रुपैयाँ नाफा गरेको थियो ।
दूरसञ्चार क्षेत्रमा टेलिकमले आफ्नो स्थिति अग्रणी रुपमै कायम राख्न सबै प्रकारका रणनीति यो वर्ष जारी राख्ने जनाएको छ ।
यो वर्ष टेलिकमले १८ लाख जिएसएम मोबाइल विस्तार गर्ने योजना बनाएको छ । यसको लागि ५० लाख लाइन उच्च प्रविधिको जिएसएम मोबाइल खरिद प्रक्रिया अघि बढाइसकेको छ ।
टेलिकमले यो वर्ष तीन लाख लाइन सिडिएमए मोबाइल वितरण गर्ने घोषणा गरेको छ । यही वर्ष इन्टरनेटसमेत चल्ने ३५ लाख आइपी सिडिएमए मोबाइल किन्ने प्रक्रिया अन्तिममा पुर्याएको छ ।
मोबाइलको गुणस्तरमा देखिने समस्यालाई सुधार गर्न टेलिकमले यो वर्ष पाँच सय वटा बिटिएस टावर थप्ने भएको छ । अहिले टेलिकमसँग एक हजार ६ सय ७० वटा बिटिएस छन् । बिटिएस विस्तारले नयाँ ठाउँमा सेवा विस्तार गर्न र भएका ठाउँमा गुणस्तर सुधार हुने टेलिकमले जनाएको छ ।
सिडिएमए प्रविधिको मोबाइलमा विस्तारको लागि यो वर्ष ६० वटा थप्ने घोषणा टेलिकमले गरेको छ। अहिले सिडिएमएका ५ सय ६६ बिटिएस छन् ।
इन्टरनेटका उपभोक्ताबीच निकै लोकप्रिय रहेको एडिएसएल सेवालाई टेलिकमले यो वर्ष ७५ वटै जिल्लामा पुर्याउने भएको छ । अहिले ५९ जिल्लामा एडिएसएल सेवा पुगिसकेको छ । हाल एडिएसएलका ५१ हजार उपभोक्ता छन् ।
नेपाल टेलिकम ९२ प्रतिशत सरकारी स्वामित्व भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । यसले २०५६ सालदेखि मोबाइल टेलिफोन सेवा सुरु गरेको हो। टेलिकमको सेवा अहिले देशका सबै जिल्लामा पुगिसकेको छ । नागरिक
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद